१० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोज्दै, एमालेलाई प्रदेश १ मा धक्का ! - Purba Pati

१० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोज्दै, एमालेलाई प्रदेश १ मा धक्का !

दमक, १६ भदौ ।


नव गठित नेकपा (एकीकृत समाजवादी) रोजेर १० जना प्रदेश सभा सदस्यहरु जाने भएपछि प्रदेश नम्बर १ मा नेकपा एमालेलाई अर्को धक्का लाग्ने भएको छ ।
एमाले छाडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएपछि एमालेको एकल सरकार प्रदेश नम्बर १ बाट ढल्लने निश्चित भएको छ ।
नेकपा (एकीकृत समाजवादी) स्रोतका अनुसार १० जना प्रदेश सभा सदस्यहरुले बुधबार (आजै) विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दै छन् ।
आज एकीकृत समाजवादीमा रहने भनी सनाखत गर्ने प्रदेश सभा सदस्यहरुमा राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, सावित्रा रेग्मी, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिताकुमारी चौधरी छन् ।
एकीकृत समाजवादीका पक्षमा १० जना प्रदेश सभा सदस्यहरुको सनाखत भएसँगै प्रदेश नम्बर १ का एमालेबाट पछिल्लो पटक बनाइएका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।
प्रदेश नम्बर १ को प्रदेश सभामा कुल ९३ सदस्यमधे हाल ९२ सदस्य छन् । एक जना एमाले प्रद्येश सभा सदस्य फौजदारी अभियोगमा सजाय पाएसँगै फरार सुचीमा छन् । हाल एमालेका सभामुखसहित ५० सभा सदस्य छन् । १० जना प्रदेश सभा सदस्यले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन् ।
विपक्षी गठबन्धनमा भने अहिले नै काङ्ग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर