भूपू गोर्खाका माग बारे बेलायत नेपाल सरकारसँग वार्ता गर्न तयार - Purba Pati

भूपू गोर्खाका माग बारे बेलायत नेपाल सरकारसँग वार्ता गर्न तयार

दमक, ४ साउन ।

तस्वीर साभार : लण्डन नेपाल न्यूज ।

भूतपूर्व गोर्खा सैनिकले उठाएका माग बारे छलफल गर्न बेलायत सरकार तयार भएपछि १३ दिनदेखि भूपू गोर्खाहरुले लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि थालेको आमरण अनसन तोडिएको छ ।
बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डीले अनसनरत समूहलाई भेटेर भूपू गोर्खाहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको जानकारी दिएका थिए ।
उनले अनसनरत समूहलाई बेलायत सरकारको तर्फबाट आश्वास्थ पार्न लिखित पत्र नै दिएका हुन् । पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ ।
रक्षामन्त्री डोचर्डीको उक्त प्रतिवद्धतापछि समानताको माग गर्दै अनसन बसिरहेका भूपू गोर्खाहरु ज्ञानराज राई, धन गुरुङ र भूपू गोर्खा पत्नी पुष्पा घलेले अनसन तोडेका हुन् । उनीहरु गत ७ अगष्टदेखि प्रधानमन्त्री निवास अगाडि अनसनमा थिए ।
भूपू गोर्खाका माग र सरोकार बारे अलफल गर्न गठन हुने वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ । त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको छ ।
गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बेलायत र नेपाल सरकारले आफूहरुका माग बारे चासो दिएको बताए । उनले भने –‘हामीले राखेको मागलाई दुबै सरकारले स्वीकार गरेको छ । रक्षामन्त्री वार्तामा बस्न तयार हुनुभयो । उहाँहरुले कहिल्यै यो रह्यो, यो रह्यो नहोस्, सबै समाधान गर्छौं भन्नु भएको छ ।’
अनसन तोडिँदा भूपू गोर्खाहरु निकै भावुक भएका थिए । उनीहरुले दुबै सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर