लुम्बिनीका तीन जना प्रदेश सभा सदस्यलाई जसपाले गर्यो कारबाही - Purba Pati

लुम्बिनीका तीन जना प्रदेश सभा सदस्यलाई जसपाले गर्यो कारबाही

दमक, १५ साउन ।


पार्टी हित विपरित काम गर्ने लुम्बिनी प्रदेशका तीन जना प्रदेश सभा सदस्यहरुलाई जनता समाजवादी पार्टी (जसपा) ले निष्कासनसहितको कारबाही गरेको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जसपाका प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख छ । उनीहरु तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।
जसपाले यसअघि वैशाख १४ गते नै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझीलाई पनि कारबाही गरेकाले उनीहरु पदमुक्त भएका थिए ।
तर सर्वोच्च अदालतले जेठ ३ गते पदमै बहाल राख्न आदेश दिएपछि उनीहरु फेरि प्रदेश सभा सदस्य कायम रहेका थिए ।
उनीहरु मध्ये रायमाझीले लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर जसपामै रहने भनी विज्ञप्ति जारी गरेकी थिइन् ।
जसपाको आधिकारिकता सम्बन्धि विवाद निर्वाचन आयोगमा साउन ११ गते सुल्झिएसँगै साउन १२ गतेदेखि १४ गतेसम्म बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरु उपर कारबाही गर्ने निर्णय गरेको थियो ।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।
प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर