झापाका १० वटा पालिकाहरुमा सिलबन्दी - Purba Pati

झापाका १० वटा पालिकाहरुमा सिलबन्दी

दमक, १४ साउन ।

सिलबन्दीपछि सुनसान झापाको दमक बजार क्षेत्र ।

साउन महिना सुरु भएयता कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या उच्च दरमा वृद्धि भएपछि झापाका विभिन्न १० वटा पालिकाहरुले आन्तरिक लकडाउन गरेका छन् ।
साउन लागेसँगै झापा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै वृद्धि भएपछि पालिकाहरुले आ–आफ्नो क्षेत्राधिकारभित्र लागू हुनेगरी पालिकास्तरीय सिलबन्दी गर्न थालेका छन् । साउन पहिलो हप्ता यतामात्रै झापाका अर्जुनधारा, दमक, कनकाई, बिर्तामोड, गौरादह, शिवसताक्षी, मेचीनगर नगरपालिका र बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि भन्दै सिलबन्दी गरेका हुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्लाका १० पालिकामा कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि सिलबन्दी भएको जानकारी दिएका छन् । पालिकाहरुले संक्रमण नियन्त्रणका लागि सिलबन्दीको निर्णय गर्नसक्ने प्रजिअ तिम्सिनाको भनाइ छ । उनले जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको बताएका छन् ।
सिलबन्दीको अवस्थामा पालिकाहरुले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन, पसल व्यवसाय बन्द गर्न, बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्न, भिडभाड हुने स्थलहरु हाटबजार, मेला महोत्सव, क्याटरिङ, होटल, रेष्टुराँ बन्द राख्न भनिएको छ । अत्यावश्यक काम परेकाबेलामा घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न भनिएको छ ।
सिलबन्दीको अवस्थामा पनि पूर्व–पश्चिम राजमार्गमा हुने यातायात आवागमन भने नरोकिएको जिप्रका झापाले बताएको छ । पालिकाहरुमा भइरहेको सिलबन्दीलाई कडाईका साथ पालना गराउन र सो को अनुगमन गर्न पालिकाहरु र जिल्ला प्रशासन कार्यालयबीच समन्वय भइरहेको खबर छ ।
हालको अवस्थामा पालिकाहरुले एक हप्ताका लागि भनेर सिलबन्दी घोषणा गरेका छन् भने यसै समयमा केही पालिकाहरुमा कोभिड–१९ विरुद्धको भेरोसेल र जन्सन्स एण्ड जन्सन्स खोप लगाउने कार्य पनि थालनी भएको छ । सिलबन्दीको सकारात्मक असर परेको भए पनि खोप केन्द्रहरुलाई व्यवस्थित गर्न नसक्दा भिडभाड बढेको र कोरोना जोखिमको संक्रमण पनि बढेको जनस्तरबाट गुनासाहरु आएका छन् ।
सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगरिदिएकाले र अनावश्यक भिडभाड बढेकाले कोरोना संक्रमणको दर बढ्न गएको ठहरसहित पालिकाहरुले रोकथाम र नियन्त्रणका लागि सिलबन्दी गर्नुपरेको बताइन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर