अन्तरिक्षको यात्राबाट फर्किए बेजोससहितको टोली - Purba Pati

अन्तरिक्षको यात्राबाट फर्किए बेजोससहितको टोली

दमक, ६ साउन ।


अमेरिकी अर्बपति जेफ बेजोस र अरू तीन जना मंगलबार अन्तरिक्षको सफल यात्रा गरी फर्किएका छन् ।
अमेजन कम्पनीका संस्थापक बेजोससँगै अन्तरिक्ष यात्रामा आफ्ना भाइ मार्क, पूर्वपाइलट ८२ वर्षकी वाली फंक र १८ वर्षीय किशोर ओलिभर डाइमेन समावेश थिए ।
बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’मा उनीहरूले मंगलबार साँझ अन्तरिक्षमा १० मिनेटको यात्रा गरेका हुन् । अन्तरिक्षको सफल यात्रा बारे अन्तरर्राष्ट्रिय सममाचार संस्था बिबिसीले समाचारमा उल्लेख गरेको छ ।
सन् १९६० को दशकमा नासाको अन्तरिक्ष यानमा जान नपाएकी फंकले मंगलबार आफ्नो सपना पूरा गरेकी हुन् भने नेदरल्यान्डका ओलिभर ‘न्यु सेफर्ड’मा अन्तरिक्षमा यात्रा गर्ने सबै भन्दा कम उमेरका व्यक्ति हुन् ।
अमेजनका मालिक बेजोसले सन् २००० मा ब्लु ओर्जिन कम्पनी खोलेका थिए । उक्त कम्पनीले बनाएका मानवरहित रकेट यसअघि नै अन्तरिक्षमा गइसकेका छन् भने यात्रु लिएर न्यु सेफर्ड पहिलो पटक अन्तरिक्षमा गएको हो ।
उनीहरू चढेको ‘न्यु सेफर्ड’ पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएको थियो । उक्त ठाउँमा गुरूत्व बल नहुने भएकाले उनीहरू यानभित्रै तैरिएका थिए । झन्डै चार मिनेट उनीहरूले तौलको अनुभव गरेका थिएनन् । त्यसपछि उनीहरू फेरि जमिनमा फर्किएका थिए ।

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया:

सम्बन्धित खवर