मोदीको डबल बधाइ, ठाकुर–महतो समूहको नाटकीय युटर्न - Purba Pati

मोदीको डबल बधाइ, ठाकुर–महतो समूहको नाटकीय युटर्न

दमक, ४ साउन ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पुनः फोन गरेरै समकक्षी शेरबहादुर देउवालाई बधाइ दिएका छन् । उनले आइतबार राति ट्वीट गरेर देउवालाई बधाइ दिएका थिए ।
टेलिफोन गरेरै मोदीले देउवालाई बधाइ दिएका हुन् । यसअघि मोदीले आफ्नो निजी ट्वीट एकाउन्टमार्फत आइतबार साँझ देउवालाई नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ सन्देश पठाएका थिए ।


छिमेकी चीनका राजदूत र अमेरिकी राजदूतहरुले औपचारिक भेटघाट गरेरै देउवालाई बधाइ दिइसक्दा पनि भारतीय पक्षले चासो दिएको थिएन । यसलाई देउवाको आगमन र ओलीको बिदाइबाट भारत रुष्ट बनेको कुटनीतिक क्षेत्रमा चर्चा सुरु भएको थियो ।
मोदीको ट्वीट सार्वजनिक भएलगत्तै जनता समाजवादी पार्टी नेपालबाट निष्कासित महन्थ ठाकुर र राजेन्द्र महतो समूहले नाटकीय रूपमा प्रतिगामी ओली कित्ता छाडेर शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
मोदीको बधाइ र ठाकुर–महतो समूहले देउवालाई विश्वासको मत दिनुमा संयोग मात्र नभएर भारतीय इशारामै नयाँ ट्वीस्ट आएको बताइन्छ । देउवा बारे भारतको दृष्टिकोण के हो भनेर पर्खाइमा बसेका ठाकुर–महतो समूहले भारतीय इशारामै विश्वासको मत दिएको उच्च स्रोतले दावी गरेको छ ।
फोन वार्ताका क्रममा मोदीले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उनले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेको बारे फोन वार्तापछि ट्वीट गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर