शासनको बागडोर देउवाको हातमा, पाए १६५ मत - Purba Pati

शासनको बागडोर देउवाको हातमा, पाए १६५ मत

दमक, ३ साउन ।


सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार संसद्बाट विश्वासको मत प्राप्त गरेसँगै वैधानिक शासनको बागडोर सम्हालेका छन् ।
आइतबार प्रधानमन्त्री देउवाले संविधानको धारा ७६(६) अनुसार विश्वासको मत लिने निर्णय गरेकाले संसद्मा मतदान भयो । २४९ मत खसेकोमा देउवाको पक्षमा १६५ मत खस्यो भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने अर्थात विपक्षमा ८३ मत मात्रै खस्यो । १ जना तटस्थ रहे ।
आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
प्रधानमन्त्री देउवाको पक्षमा काङ्ग्रेससहित माओवादी केन्द्र, जसपा, जसपाबाट निष्कासित महन्थ ठाकुर समूह र राष्ट्रिय जनमोर्चाका सांसद्ले मतदान गरेका थिए । माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए भने केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।
एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो भने राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको थियो । नेमकिपाले विपक्षमा मतदान गरेको थियो ।


देउवाले विश्वासको मत पाएसँगै सामाजिक सञ्जालहरुमा खुशीयाली व्यक्त गर्न थालिएको छ । धेरैले ट्वीटर र फेसबुकहरुमा ‘ओलीयुगको अन्त्य’ भनेर लेखेका छन् । कतिपयले भने ओली स्वेच्छाचारिताको अन्त्यमा माधवकुमार नेपालले खेलेको भूमिका र राखेको अडानको प्रसंशा गरेका छन् । त्यस्तै कतिपयले भने जसपाबाट निष्कासित महन्थ ठाकुर समूहले पनि विश्वासमा मत दिएको विषयलाई ‘बिलो बाँढ्ने बेलामा भाग बस्न पल्किएको’ भनेर आलोचना गरेका छन् ।

लगातार ६ घण्टा चल्यो संसद्

आइतबार अपराह्न ४ बजे सुरु भएको बैठक राति १० बजेसम्म चलेको थियो ।
बैठकको पहिलो चरणमा राष्ट्रपति कार्यालयका पत्रहरू वाचन गरिनुका साथै सरकारले गरेका विभिन्न निर्णयहरू र अध्यादेशबारे सभामुख अग्नि सापकोटाले सदनलाई सूचना दिएका थिए ।
त्यसपछि १५ मिनेट स्थगित भएको संसद्को दोस्रो चरणको बैठकमा लगातार ५ घण्टा छलफल भएको थियो ।
बैठकको सुरुमा देउवाले आफ्नो नेतृत्वमा गठन भएको सरकारलाई विश्वासको मत मागेका थिए ।
छलफलमा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका डा. मिनेन्द्र रिजाल, माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, जसपाका बाबुराम भट्टराई, जसपाबाट निष्कासित महन्थ ठाकुर, राप्रपाका राजेन्द्र लिङदेन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले बोलेका थिए ।
संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री देउवाले दिएपछि प्रतिनिधिसभा मत विभाजनका लागि पक्ष र विपक्षमा मतदान भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर