देउवाले आजै विश्वासको मत लिँदै, माधव नेपाल पक्षले मत दिने ! - Purba Pati

देउवाले आजै विश्वासको मत लिँदै, माधव नेपाल पक्षले मत दिने !

दमक, ३ साउन ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) नै विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक साउन ३ गते आज अपरान्ह ४ बजे बस्दैछ ।
संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त व्यक्तिले प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
बालुवाटार स्रोतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।


सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपासँग प्रतिगामी ओली कित्तामा लागेका बाहेकको १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत अपुग देखिएको छ ।
तर, देउवालाई प्रधामन्त्री प्रस्ताव गर्दा झें एमालेको माधवकुमार नेपाल समूहले विश्वासको मत दिने सम्भावना बलियो बनेको छ । प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेका २३ जना थिए ।
संसद् पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५)को प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा दलको ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गसिसकेको छ ।
शनिबार स्थायी समितिको बैठक र संसदीय दलको बैठकबाट निर्णय नै गरेर ओली पक्ष विश्वासको मत नदिने पक्षमा उभिएको छ भने नेपाल पक्ष संसद् बचाउनका लागि देउवालाई विश्वासको मत दिने पक्षमा छ । नेपाल समूह यतिबेला विश्वासको मत दिने बारे छलफल गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर