रुससँगको वार्तापछि बाइडेनको ध्यान चीनतिर - Purba Pati

रुससँगको वार्तापछि बाइडेनको ध्यान चीनतिर

एजेन्सीको सहयोगमा ।


अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादमिर पुटिनसँग छलफल गरे लगत्तै चिनियाँ समकक्षी सी चिनफिङसँग दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी गर्ने तयारी थालेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार कुट सम्बन्ध रहेको मुलुक रुसका राष्ट्र प्रमुखसँग दुई नेताबीच कुराकानीको वातावरण मिलाउन लागिएको जनाएको छ ।
रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई दुई दिनअघि मात्रै जेनेभामा भेटेर वासिङ्टन फर्किएका बाइडेनले अमेरिकाको तिक्ततापूर्ण सम्बन्ध भएको अर्को शक्ति राष्ट्र चीनका राष्ट्रपतिसँग वार्ता गर्ने तयारी थालेका हुन् ।
बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दुई मुलुकका राष्ट्रपतिहरुबीच कुराकानी गर्ने तयारी भए पनि कहाँ, कसरी कुराकानी हुने भन्ने तय हुने बाँकी रहेको बताएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार सुलिभानले टेलिफोनमा वा कुनै अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा वा अरू कुनै मान्धमबाट कुराकानी हुन सक्ने बताएका छन् ।
बाइडेन र चिनफिङ दुबै जना अक्टुबरमा इटालीमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।
यसअघि युरोप भ्रमणका क्रममा बाइडेनले जी ७ र नाटो सदस्य राष्ट्रहरूलाई चीनविरूद्ध एक मत बनाउन प्रयास गरेका थिए । जी ७ को सम्मेलनपछि जारी भएको संयुक्त वक्तव्यमा बेइजिङले आपत्ति नै जनाएको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरूद्ध व्यापार युद्ध सुरू गरेका थिए । दुई पक्षीय व्यापार, साउथ चाइना सी, हङकङ, ताइवान र सिन्जियाङलगायत विषयमा वासिङ्टन र बेइजिङबीच तीव्र मतभेद छ । पछिल्लो समय तिक्ततापूर्ण सम्बन्धमा थपिएको विषय हो कोरोना भाइरस महामारी ।
बाइडेनले सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको उद्गम बिन्दु पत्ता लगाउन आफ्ना अनुसन्धान संस्थाहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर