जसपा बैठक : ठाकुर पक्षका ८ नेतालाई प्रदेश निषेध - Purba Pati

जसपा बैठक : ठाकुर पक्षका ८ नेतालाई प्रदेश निषेध

दमक, ३ असार ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टीबाट निष्कासित ८ जना नेतालाई सहभागी नगराउने भएको छ । निष्कासित नेताहरुलाई पार्टी बैठकमा प्रदेश नदिने तय भएको हो ।
पार्टीले निष्कासन गरिसकेका चार नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णसहित वर्तमान कामचलाउ केपी ओली नेतृत्वको सरकारमा सहभागी नेताहरु शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव र चन्दा चौधरीलाई कार्यकारिणी समितिको बैठकमा सहभागी नगराउने नीति रहेको पार्टी स्रोतले जनाएको छ ।
जसपाले यसअघि नै ओली सरकारमा सहभागी हुने पार्टीका जोसुकै नेतालाई तत्काल निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टी निर्णय अनुसार नै आठ जना नेताहरुलाई बैठकमा नबोलाइएको कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले प्रष्ट पारे ।
केहीबेरमा सुरु हुने कार्यकारिणी बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ ।
ठाकुर पक्षले भने बुधबार विज्ञप्ति जारी गरेर जसपाको बैठक नरहेको भनी मिडियामा प्रचारबाजी गरेका थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले भने पार्टीबाट निष्कासित ठाकुरलाई कार्यकारिणी समितिको बैठक छैन भन्ने अधिकार नरहेको बताएका छन् । पार्टीमा नरहेका व्यक्तिहरुले बाहिर के गर्छन् भन्ने कुराले कुनै प्रभाव नपर्ने यादवको भनाइ छ ।
जसपाका ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमध्ये ४३ जनालाई बैठकको बारेमा जानकारी पठाइएको पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर