अ‍ेमरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच ४ घण्टा वार्ता - Purba Pati

अ‍ेमरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच ४ घण्टा वार्ता

एजेन्सीको सहयोगमा ।


अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच स्विट्जरल्यान्डको राजधानी जेनेभामा चार घण्टा लामो भेटवार्ता भएको छ ।
बाइडेनले अमेरिकाको सत्ता सम्हालेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग वार्ता गरेका हुन् ।
पछिल्लो समय खस्किँदै गएको अमेरिका–रूस सम्बन्धमा बाइडेन–पुटिन वार्ताले खासै ठूलो परिवर्तन नल्याउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । वार्तापछि दुवै राष्ट्रपतिले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर वार्ताका विषयमा जानकारी गराएका थिए ।
जेनेभा तालको किनारमा बाइडेन र पुटिनले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत् एक–अर्काबारे बिगतमा जस्तो नराम्रा शव्द प्रयोग नगरेको तर वार्ताबाट सम्बन्धमा परिवर्तन हुने संकेत पनि नगरेको बताइएको छ ।
दुबै नेताहरूले वासिङ्टन र मस्कोमा फेरि आफ्ना राजदूत पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


यसअघि बाइडेनले गत मार्चमा पुटिनलाई हत्यारा भनेपछि रूसले आफ्ना राजदूतलाई वासिङ्टनबाट फिर्ता बोलाएको थियो भने अमेरिकाले पनि मस्कोबाट आफ्ना दूतलाई बोलाएको थियो ।
त्यस्तै दुबै राष्ट्रपतिले साइबर सुरक्षा र हतियार नियन्त्रणबारे कुराकानी गर्ने सहमति गरेका छन्। ती विषयमा अब कसरी कुराकानी अघि बढ्छ भन्ने खुलाइएको छैन ।
वार्ताका क्रममा आफूले गत मेमा अमेरिकाको पूर्वी क्षेत्रमा पाइपलाइनमा भएको साइबर आक्रमणको कुरा उठाएको बाइडेनले बताए । तर पुटिनले भने रूसले अमेरिकामाथि कुनै साइबर हमला नगरेको दाबी गरे ।
राष्ट्रपति बाइडेनले पुटिनलाई १६ वटा क्षेत्रमा रूसले साइबर हमला गरे त्यसको परिणाम गम्भीर हुने भनेको बताए । तर १६ क्षेत्र के–के हुन् भन्ने उनले खुलाएनन ्।
रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीका विषयमा पनि आफूले कुरा उठाएको बाइडेनले बताए ।
रूसी राष्ट्रपति पुटिनले भने जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको आक्रमण, ब्ल्याक लाइभ्स म्याटर आन्दोलनजस्ता कुराले अमेरिकामा अस्तव्यस्ता ल्याएको भन्दै सहानुभूति प्रकट गरे । उनले आफ्नो मुलुकमा त्यस्तो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
दुई नेताहरूले व्यक्त गरेका फरक–फरक धारणाले उनीहरूबीचको बहुप्रतिक्षित वार्ताले यी दुई शक्ति राष्ट्रबीच जारी तनावपूर्ण सम्बन्ध कायम रहने देखिएको छ ।
पुटिनसँगको भेटवार्तापछि राष्ट्रपति बाइडेन पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर