दलको वैधानिकता दावी गर्न जसपा पुनः निर्वाचन आयोग जाने - Purba Pati

दलको वैधानिकता दावी गर्न जसपा पुनः निर्वाचन आयोग जाने

दमक, १ असार ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निर्वाचन आयोग जाने भएको छ ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा सम्पन्न पार्टी निकट कानून व्यवसायीहरुसँगको छलफलपछि जसपा नेपाल यस्तो निर्णयमा पुगेको हो ।
जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जसपा पुनः दलको वैधानिकता दावी गर्न निर्वाचन आयोग जाने कुरा पुष्टि गरे ।
कानून व्यवसायीहरुसँगको छलफलका क्रममा तत्काल अदालत जानु भन्दा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिङ्गो पार्टीको आधिकारिकता दाबी गर्न उपयुक्त हुने र यो बाटोबानै छिटो हुने सुझाव पार्टी निकट अधिवक्ताहरुले दिएका थिए । जसपा निकट संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईले भने –‘हामीले दलको वैधानिकता दाबी गर्न सुझाव दिएका छौं । अदालतमा जाने कुरा त छँदैछ ।’
सोमबार भने जसपा शीर्ष नेताहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत जाने बारे छलफल गरेका थिए ।
यसअघि जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतका आधारमा महन्थ ठाकुरसहित चार नेताहरुमाथि निष्कासनसहितको कारबाही गरेको भनी जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा दफा ५१ अनुसार दलसम्बन्धी विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । त्यस लगत्तै महन्थ ठाकुरले पनि जसपा अध्यक्ष यादवलाई कारबाही गरेको भनी विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले दुवै दाबी अस्वीकृत भएको निर्णय सुनाएको थियो ।
आयोगको निर्णयले उसको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको जसपा अध्यक्ष यादवले मंगलबार नै विज्ञप्ति जारी गरेर भनिसकेका छन् । जारी विज्ञप्तिमा भनिएको छ –‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरूप गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर