निर्वाचन आयोगको निर्णय एकतर्फी भएको जसपाको ठहर : सर्वोच्च जाने तयारी - Purba Pati

निर्वाचन आयोगको निर्णय एकतर्फी भएको जसपाको ठहर : सर्वोच्च जाने तयारी

दमक, ३१ जेठ ।


जनता समाजवादी पार्टी(जसपा)ले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई एकतर्फी ठहर गर्दै त्यसविरुद्ध अदालत जाने तयारी गरेको छ ।
जसपाबाट निष्कासित नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट कारबाही गरिएको र उनीहरुको नाम निर्वाचन आयोगको दल दर्ता किताबबाट हटाउन भनी दिइएको निवेदनलाई आइतबार निर्वाचन आयोगले प्रक्रिया नपुगेको भनी खारेज गरेपछि जसपाका नेताहरु सर्वोच्च जाने तयारीमा जुटेका हुन् ।
जसपाका ठाकुर र महतो बाहेकका शीर्ष नेताहरु निर्वाचन आयोगको पछिल्लो एकतर्फी निर्णयविरुद्ध सर्वोच्चमा जाने बारे छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शर्षि नेताहरुको बैठक जारी रहेको जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए । बैठकले आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बारे औपचारिक निर्णय गर्ने छ ।
पार्टीको विधान अनुरूप कार्यकारिणी समितिको बैठकले गरेको निर्णयको हस्ताक्षरसहितका विवरण निर्वाचन आयोगलाई बुझाउँदा पनि प्रक्रिया पुगेन भन्नुले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह उठेको भन्दै चौरासियाले भने –‘त्यसविरुद्ध हामी सर्वोच्च अदालतमा जान्छौं । आज पदाधिकारी बैठकबाट निर्णय गरेर भोलि सर्वोच्चमा रिट दर्ता गर्छौं ।’
प्रतिगामी ओली सत्ता ढाल्ने वा टिकाउने भन्ने विषयमा जसपाभित्र विवाद भएको थियो । जसमा पार्टीको बहुमत कार्यकारिणी समितिको बहुमतले ओली सरकारको विकल्पमा उभिने निर्णय गरेको थियो । तर अध्यक्ष महन्थ ठाकुरसहितको एउटा समूहले ओली सरकार टिकाउन खुलेर भूमिका खेलेपछि ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो कार्यकारिणी सदस्यहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी जसपाले गत १८ जेठमा निष्कासनसहितको कारबाही गरेको थियो ।
चार जना नेतालाई कारबाही गरेको विवरण अध्यावधिका लागि निर्वाचन आयोगमा पत्र पठाइए लगत्तै ठाकुरले पनि अध्यक्ष यादवलाई कारबाही गरिएको जानकारीसहित अध्यावधिक गरिदिन आयोगमा पत्र पठाएका थिए ।
आयोगले त्यसै दिन राजनीतिक दल सम्बन्धि नियमावली २०७३ को अनुसूची १८ को फारामसमेत भरेर त्यस अनुरुपका कागजात पठाउन भनेको थियो । जसपाका तर्फबाट अनुसूची बमोजिम सबै कागजात पेश गरिए पनि ठाकुरले भने कुनै कागजात पेश गर्न सकेनन् । उनले कोरोनाको कारण देखाउँदै थप एक हप्ता म्याद थप गरिदिन आयाोगमा पत्रचार गरेका थिए ।
तर निर्वाचन आयोगले भने दुवैका दाबी अध्ययन गर्दा कुनैको पनि नियमसंगत नदेखिएको भन्दै दुवैका पत्र खारेज गर्ने भनी आइतबार हाँस्यास्पद निर्णय सुनाएको थियो ।
जसपाको पार्टी विधान अनुसार कारबाहीमा परिसकेका ठाकुर–महतो समूहका १० जना सांसद् अहिले कामचलाउ ओली सरकारको मन्त्री बनेका छन् । जसपाले भने प्रतिगामी ओली सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णयसहित राजनीतिक गतिविधि जारी राखेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर