गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार - Purba Pati

गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

दमक, ३० जेठ ।


गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको मन्त्रिपरिषद् विस्तारमा नयाँ सत्ता समिकरणमा सहयोग गर्ने दलबाट र स्वतन्त्र सांसदलाई मन्त्री बनाइएको छ ।
मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।
मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे छन् । चारै जना मन्त्रीको मन्त्रालय बारे पुनः छलफल गरेर मात्रै टुङ्गो लगाइने भएकाले हाल उनीहरु विना विभागीय छन् ।
मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका थिए ।
यसअघि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पाइला पछ्याउँदै प्रदेश सभा बिघटनको प्रयास गरेका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उनकै दल एमालेका सांसदहरुले प्रतिगामी कदम नदोहोर्याउन चेतावनी दिएका थिए । आफ्नै पार्टीका सांसदहरुको चेतावनीपछि पछि सरेका गुरुङले पोखरेल मुख्यमन्त्री नियुक्ति भएलगत्तै फोन गरेर बधाइ दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर