बाइडेन–पुटिन भेट जुन १६ मा पक्का ! - Purba Pati

बाइडेन–पुटिन भेट जुन १६ मा पक्का !

एजेन्सीको सहयोगमा ।


अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच जुन १६ मा भेटवार्ता हुने पक्का भएको छ ।
आपसमा तिक्ततापूर्ण सम्बन्ध भएका दुई मुलुकका प्रमुखहरुबीचमा जुन १६ मा भेटघाट हुँदैछ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दिएको जानकारी अनुसार दुई मुलुकका समकक्षीबीच स्वीट्जरल्यान्डको जेनेभामा भेट पक्का भएको हो ।
समाचार ऐजेन्सीहरुले दिएको जानकारी अनुसार यो भेटको लागि बाइडेन र पुटिन सहमत भएको खबर छ । बाइडेन अमेरिकाको सत्तामा आएपछि दुई मुलुकका प्रमुखबीचको यो भेट नै पहिलो हो ।
एक दिनको सो भेटमा दुई मुलुकबीच आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ ।
सन् १९८५ मा सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो ।
सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ ।
दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो छ । केही समयअघि बाइडेनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पुटिनलाई ‘हत्यारा’ भनेका थिए । जवाफमा पुटिनले पनि रूखो प्रतिक्रिया दिँदै नयाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए ।
बाइडेनसँगको भेटका क्रममा पुटिनले रूसभित्र र पूर्वी युरोपमा आफ्नो हितलाई अमेरिकाले सम्मान गर्नुपर्ने कुरा राख्ने अनुमान गरिएको छ । रूसले पहिलादेखि नै वासिङ्टनले पुटिनको शासन र पूर्वी युरोपमा उसको प्रभावलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै आएको छ ।
ह्वाइटहाउसका अधिकारीहरूले बाइडेन–पुटिन भेटवार्ताले कुनै ब्रेकथ्रु हुने अपेक्षा गरेका छैनन् । तर पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड–१९ महामारीविरूद्धको लडाइँमा सहकार्य गर्ने विषयमा कुरा गर्ने अनुमान गरिएको छ ।
पुटिनसँगको भेटघाटपछि बाइडेनले संयुक्त पत्रकार सम्मेलन भने नगर्ने ह्वाइटहाउसको भनाइ छ । भेटघाटमा भएका कुरालाई पारदर्शी रूपले सम्प्रेषण गर्न उनले एक्लै पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।
सन् २०१८ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग फिनल्यान्डको हेल्सिन्कीमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
राष्ट्रपति बाइडेन अहिले जी ७ मुलुको शिखर सम्मेलनमा सहभागी हुन बेलायतमा छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर