स्वस्थ शरीरको लागि पिलो निचोरेर फाल्नै पर्छ : डा. बाबुराम भट्टराई - Purba Pati

स्वस्थ शरीरको लागि पिलो निचोरेर फाल्नै पर्छ : डा. बाबुराम भट्टराई

दमक, २३ जेठ ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सत्तामा सहभागी महन्थ ठाकुर र राजेन्द्र महतोको समूहलाई शरीरको पिलोसँग तुलना गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल प्रदेश समिति, प्रदेश नम्बर १ को आयोजनामा आज आइतबार सम्पन्न ‘समसामयिक राजनीतिक विषयमा मार्गनिर्देश भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईले भने –‘जसरी स्वस्थ शरीरको लागि पिलो निचोरेर फाल्नै पर्छ त्यस्तै पार्टीमा पनि प्रतिगामी शक्तिसँग सत्ता साझेदार गर्नेहरुमाथि कठोरका साथ कारबाही गर्नुपर्छ ।’
भारतमा उदाएको चरम दक्षिणपन्थ र हिन्दु धार्मिक कट्टरपन्थसँग ओलीको साँटगाँठ रहेको भन्दै उनले नवफाँसीवादको जन्म हुने खतरा बढेको टिप्पणी गरे । महन्थ ठाकुर र राजेन्द्र महतो पनि त्यही बाटोमा लागेर मुलुकलाई अँध्यारो सुरुङतर्फ लान मद्दत गरेको भट्टराईले आरोप लगाए ।
उनले काङ्ग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह र जनमोर्चासहित जसपाले प्रतिगमनविरुद्ध पालिका तहसम्मै मोर्चाबन्दी कार्य अघि बढाइने बताए ।


कार्यक्रममा बोल्दै जसपा वरिष्ठ नेता अशोक राईले विश्व अमेरिका र चीनबीचको नयाँ शितयुद्धतर्फ धकेलिएको भन्दै मुलुकमा पछिल्लो राजनीतिक घटनाक्रमका पछाडि त्यसैको असर रहेको टिप्पणी गरे ।
चीनलाई एसिया प्रशान्त क्षेत्रमा घेराबन्दी गर्न अमेरिकाले इन्डो प्यासफिक स्ट्राटेजी अघि सारेको र नेपालको भूराजनीतिक अवस्थितिमा त्यसको असर परेको राईको भनाइ थियो । अर्को प्रसङ्गमा उनले जसपा एक ढिक्का रहेको र केही पलायनवादी प्रवृत्तिका मानिसहरु जाँदैमा पार्टी नफुट्ने दावी गरे । महन्थ ठाकुर र राजेन्द्र महतो समूहतर्फ लक्षित गर्दै राईले भने –‘बहुमत जहाँ छ, त्यहाँ पार्टी छ । त्यस कारण पार्टीको निर्णय विपरत सरकारमा जानेहरुलाई कारबाही हुन्छ ।’
कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले ओली भारतीय सत्ता सञ्चालक दल भाजपाको गोटी भएको आरोप लगाउँदै उनी नेपालमा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशीता लगायत उपलब्धिहरुलाई समाप्त पार्न उद्धत रहेको जिकिर गरे भने परशुराम खापुङले पार्टीभित्र सामान्य असन्तुष्टि रहने भन्दै त्यसलाई पार्टीको विधि र निर्णयबाट सम्बोधन गरिने दावी गरे । उनले मुलुकमा अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको आवश्यकता रहेको जिकिर गरे ।


कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादवले ठाकुर–महतो पक्षलाई भगौडा र प्रतिक्रियावादीको संज्ञा दिँदै उनीहरुको हालत एक महिनापछि पूर्व राजा ज्ञानेन्द्रको जस्तै हुने ठोकुवा गरे । परशुराम बस्नेतले प्रदेशको समायोजन कार्य पार्टीका शीर्ष नेताहरुको किचलोका कारण अन्योलमा परे पनि चाँडै पार्टी र संगठनले गति लिने दावी गरे ।
जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विषय प्रकाश पारेको सो भर्चुअल कार्यक्रममा पार्टीका शीर्ष तहका नेतासहित केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समन्वय समिति, निर्वाचन क्षेत्र र गाउँ नगरका अध्यक्ष र जनवर्गी संगठनका केन्द्र र प्रदेशका नेताहरुको सहभागिता रहेको थियो । तीन घण्टासम्म चलेको सो भर्चुअल कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर