संसद् पुनर्स्थापना हुने डरले ओली पार्टी एकताको कार्ड फाल्न वाध्य - Purba Pati

संसद् पुनर्स्थापना हुने डरले ओली पार्टी एकताको कार्ड फाल्न वाध्य

दमक, २३ जेठ ।


संसद् पुनर्स्थापना हुने सम्भावना बलियो हुँदै गएपछि कामचलाउ हैसियतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार टिकाउने नयाँ कार्ड फालेका छन् ।
ओलीले आफ्नो पार्टी नेकपा एमालेको एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । एमाले अध्यक्षसमेत रहेका ओलीविरुद्ध पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितको समूहले लग्भग छोड्ने निश्चित भएपछि उनी पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै नाटकीय ढङ्गले नरम देखिएका छन् ।
आइतबार राति ओलीबाट जारी विज्ञप्तिमा पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभएको भन्दै उनले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्ने जिकिर गरेका छन् ।
शुक्रबार नेपाल समूहको स्थायी कमिटी बैठकले भने ओली पक्षसँगको एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रूपमा मात्र लिएको आरोप लगाएको थियो । आफूहरुका प्रस्ताव कार्यान्वयन हुने विश्वसनीय आधारसहितको सहमति भए मात्र ओलीसँगै रहने अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने नेपाल समूहले चेतावनी दिएको थियो ।
नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै ओलीले एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भन्दै पार्टी अध्यक्षको हैसियतमा आफूले एकताका निम्ति पहल गरेको दावी गरेका छन् ।

पार्टी एकताका लागि ओलीकोको छ बुँदे प्रस्ताव :

  • नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।
  • मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।
  • संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।
  • आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाछ हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।
  • यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।
  • नेकपा एमालेलाई बैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर