माओवादीले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन - Purba Pati

माओवादीले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन

दमक, २३ जेठ ।


नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ को एमाले सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएका हुन् । सरकारबाट अलग भएको र सरकारका गतिबिधि आलोचनायोग्य रहेकोले प्रतिपक्षी भूमिका निर्वाह गर्न समर्थन फिर्ता लिएको दलका नेता आङ्बोको भनाइ छ ।
प्रदेश १ सरकारका गतिबिधिविरुद्ध आलोचक रहेको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेशको बजेट ल्याउन १५ दिनअघि प्रिबजेट छलफल गर्नुपर्ने कानूनी प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरेर अघि बढ्ने मुख्यमन्त्री शेरधन राईको कदमपछि माओवादी केन्द्र थप सशंकित भएको हो ।
तर प्रदेशसभामा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट भने देखिएको छैन ।
२०७३ फागुन ३ गते नेकपा एमाले संसदीय दलका नेता शेरधन राई माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए । माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको बैठकले दलका नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दलको नेतालाई दिएको थियो ।
प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् । सोमबार अपरान्ह २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर