जसपामा ठाकुर–महतो समूहले एक कार्यकारिणी सदस्यको मूल्य तोके ५० लाख - Purba Pati

जसपामा ठाकुर–महतो समूहले एक कार्यकारिणी सदस्यको मूल्य तोके ५० लाख

दमक, १२ जेठ ।


जनता समाजवादी पार्टी नेपाल (जसपा)मा आधिकारिकताको बिवाद बढ्दै गएसँगै पार्टीको शाक्तिशाली निकाय कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ ।
कार्यकारिणी समितिको झण्डै दुई तिहाई बहुमत सदस्यहरुको जेठ ८ र ९ गते सम्पन्न बैठकले पार्टी निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सघाएको भन्दै अध्यक्ष मध्येका एक महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणसहित कारबाही गर्ने निर्णय भएपछि ठाकुर–महतो समूह अहिले कार्यकारिणी सदस्य खरिद गर्ने प्रयासमा जुटेको पार्टी स्रोतले जानकारी दिएको छ ।
ठाकुर–महतो समूहले यसअघि पार्टीका अर्का वरिष्ठ नेता अशोक राईलाई दुई मन्त्रालयको अफरसहित आफनो पक्षमा पार्ने प्रयास गरेको कुरा बाहिर आएको थियो । तर वरिष्ठ नेता राईले पार्टी विरोधी कुरा गर्नेमाथि कारबाही हुने भनेर हप्काएपछि ठाकुर–महतो समूहका मानिसहरु हच्किएका थिए । ‘अहिले त्यो समूहले जसपा कार्यकारिणी समितिका अन्य सदस्यहरुलाई खरिद गर्ने प्रयास थालेका छन्’, स्रोतले भन्यो ।

नेता मिलाउने जिम्मा महतोको

ठाकुर–महतो समूहको तर्फबाट कार्यकारिणी समिति सदस्यहरुलाई पैसाको प्रलोभनमा पारेर आफ्नो समूहमा तान्ने जिम्मेवारी महतोले लिएका बताइएको छ ।
यस कार्यको निम्ति महतोले ओलीसँगको मिलोमतोमा एमालेका केही नेता र जसपाकै दोस्रो तहका नेताले कार्यकारिणी सदस्य खरिद गर्ने जिम्मेवारी लिएको र प्रतिसदस्य पचास लाख मूल्य निर्धारण गरेको महतो निकट एक नेताले नाम नखुलाउने शर्तमा भने ।
उनले भने –‘पार्टीको विधान अनुरूप कार्यकारिणी समिति नै सबै भन्दा शक्तिशाली निकाय हो । त्यसैले कार्यकारिणीमा बहुमत पुर्याउन हामी सबै उपाय अवलम्बन गर्छौं ।’ उपेन्द्र यादवले कार्यकारिणीमा बहुमत देखाएर आफूहरुलाई कारबाही गर्ने तयारी गरेको भन्दै त्यसलाई विफल पार्न र भारतीय डिजाइन अनुसार ओली सत्ता टिकाउन आफूहरु लागि पर्ने उनको भनाइ छ ।
महतो निकट ती नेताका अनुसार अहिले सांसद कलुदेवी विकसहित उनका श्रीमान दानबहादुर विक पनि ठाकुर–महतो समूहमा पुगेका छन् । कलुदेवीलाई मन्त्री बनाउने प्रलोभनसहित नगद ५० लाख दिइएको हो भने अहिले कार्यकारिणी सदस्यको हैसियतले दानबहादुरले समेत थप ५० लाख माग्न थालेपछि महतो दोधारमा परेका छन् ।
महतो निकट ती नेताले भने –‘अहिले पचास लाख भनेका छौं । हामी पार्टी केन्द्रीय कार्यकारिणीमा बहुमत पुर्याउन जति पनि खर्च गर्न तयार छौं । पैसाको कुनै समस्या छैन ।’
संसदीय दलमा उपेन्द्र बाबुराम पक्षसँग बराबरीको संख्यामा रहेको ठाकुर–महतो पक्षले पछिल्लो समय मन्त्री बनाउने प्रलोभनसहित ५०–५० लाख नगदसमेत दिएर उमाशंकर अरगरिया, विमलकुमार श्रीवास्तवसहित पाँच जना सांसद खरिद गरेर आफ्नोतिर पारेका छन् ।

One thought on “जसपामा ठाकुर–महतो समूहले एक कार्यकारिणी सदस्यको मूल्य तोके ५० लाख

  1. ज स पा का नेतादधय पैसामा बिक्ने छैनन।प्रतिगामीलाई जसले साथ दिन्छ त्याे नेतालाई मानिने छैन ।पैसाकाे लागि हाे भने ब्षापार ब्याबसाय र उधाेग धन्दा गरे भयाे ।राजनीति देश र जनताको सेवाकाे लागि हाे।

प्रतिक्रिया:

सम्बन्धित खवर