आज विश्व प्रेस स्वतन्त्रता दिवस - Purba Pati

आज विश्व प्रेस स्वतन्त्रता दिवस

दमक, २० वैशाख ।


आज सोमबार विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । यस वर्ष विश्व प्रेस स्वातन्त्रता दिवसको मूल नारा ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ तय गरिएको छ ।
आजकै दिन सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको थियो । यसै दिनको सम्झनामा हेरक मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो ।
विश्व प्रेस स्वतन्त्रा दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले युनेस्कोसँगको सहकार्यमा सोमबार भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वर्तमान परिस्थितिमा स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ ।
अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक गर्ने र नेपालका विभन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गर्ने तयारी रहेको महासंघले जनाएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)सँग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल(साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर