राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान - Purba Pati

राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान

प्रधानमन्त्री ओली विश्वासको मत लिँदै

दमक, १९ वैशाख ।


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।
आइतबार राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीसमक्ष मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मुलुकमा अहिले कायम राजनीतिक अन्योलता चिर्नका लागि प्रम ओलीले विश्वासको मत लिन लागेको उनी निकटहरुले दावी गरेका छन् ।
संविधानतः प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकीन गर्न कुनै पनि बेला विश्वासको मत लिन सक्छन् ।
सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता नलिए पनि प्रम ओलीले भने विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् । माओवादी केन्द्रका ४ सांसदको पद गइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर