मुख्यमन्त्री पोखरेलको राजीनामा : एकल सरकार बनाउने दावी - Purba Pati

मुख्यमन्त्री पोखरेलको राजीनामा : एकल सरकार बनाउने दावी

दमक, १९ वैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको लागि राजनीतिक सरगर्मी बढेको छ ।
आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै पोखरेलले अब पुनः एमालेको एकल सरकार गठनका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पोखरेलको राजीनामा बारे पुष्टि गरेका हुन् ।
पोखरेलको निजी सचिवालयका अनुसार उनी पुनः मुख्यमन्त्री बन्नको लागि तीव्र राजनीतिक दौडधुपमा लागेका हुन् ।
अघिल्लो पटक संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेकोमा अब १६८ को १ अनुसार एकल सरकार गठन गरिने पोखरेलले दावी समेत गरेका छन् ।
पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने –‘एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार मुख्यमन्त्रीले राजीनामा दिनु भएको हो ।’
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा सो प्रस्ताव उपर आज आईतबार दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएपछि रहाल ८१ सदस्यीय रहेको छ । नेकपा एमाले एक्लैको ४१ सांसद रहेको हुँदा पोखरेलले पुनः आफू नै एकल सरकारको मुख्यमन्त्री हुने दावी गरेका हुन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर