श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रम ओली - Purba Pati

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रम ओली

दमक, १८ वैशाख ।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकले अब न्यूनतम मासिक १५ हजार पारिश्रमिक पाउने बताएका छन् ।
१३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८÷ ७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन गरी सरकारले मासिक १५ हजार पारिश्रमिक तोक्ने बताएका हुन् । सरकारले सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने ओलीले दावी गरेका छन् ।
यद्यपि नेपाल लगायत विश्वभर नै नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा कुनै औपचारिक कार्यक्रमहरु भने भएनन् । कोरोना भाइरसका कारण गत वर्ष पनि श्रमिक दिवसका लागि तय गरिएका सबै कार्यक्रम रद्द गरिएका थिए ।

सबै सुरक्षित नभएसम्म सबै असुरक्षित : राइडर

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गाई राइडरले श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कोरोना संक्रमणको महामारीले कामको संसारलाई तहसनहस पारेको, रोजगार, व्यवसाय र जीविकाको विनाश गरेको उल्लेख गर्दै यसबाट करोडौं मानिस कामविहीन हुनुपरेको उल्लेख गरेका छन् ।
रायडरले भनेका छन् –‘सबै जना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन ।’
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु भएको हो । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर