जसपाले गर्यो ओली सरकार विरुद्ध उभिने निर्णय - Purba Pati

जसपाले गर्यो ओली सरकार विरुद्ध उभिने निर्णय

ओलीसँग सत्ता सझेदार गर्ने ठाकुर र महतोको सपना चक्नाचुर

दमक, १७ वैशाख ।


जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।
जसपा नेपालको कार्यकारिणी समिति बैठकमा सहभागी बहुमत सदस्यहरुले निर्णय अनुसार प्रधानमन्त्री ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने जसपा नेपालले निर्णय गरेको हो ।
यससँगै जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले मालदार मन्त्रालय लिनेगरी बुनेको ओलीसँग सत्ता साझेदारीको सपना चक्नाचुर हुने भएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको वैशाख १४ गते बसेको बैठकले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सांसदहरुलाई समेत पार्टीबाट निष्कासन सहितको कारबाही गरेको जसपा नेपाल केन्द्रीय पार्टी स्रोतले जनाएको छ ।
समाचार स्रोतका अनुसार १४ गते बिहान बसेको पदाधिकारी बैठकमा लुम्बिनी प्रदेशका सांसदहरुलाई कारबाही गर्ने एजेन्डामा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आपत्ति जनाएपछि तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक डाक्नुपर्ने माग संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले राखेका थिए ।
तर ठाकुर र महतोले सांसद कारबाही र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यकारिणी समिति बैठकको आह्वानलाई आलटाल गरेका थिए । नेताद्वयको असहमतिका बावजुद दिउँसो कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठक बसेको र निर्णय गरेको पार्टी स्रोत बताउँछ ।
जसपा नेपालको अन्तरिम पार्टी विधान २०७७ मा कार्यकारिणी समिति बैठकले २७७ कार्तिक ३ र ४ को बैठकले आवश्यक संशोधन गरी दफा ६९ (५) अनुसार ‘एकता महाधिवेशन नभएसम्म पार्टीको महत्त्वपूर्ण निर्णयहरु समितिको सहमतिमा गरिने छ । सहमति हुन नसकेमा बहुमतद्वारा निर्णय गरिनेछ, उल्लेख छ ।
यद्यपि मिडियाहरुमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो पक्षले दुवै विषयमा कुनै निर्णय नभएको, कारबाहीको निर्णय कार्यान्वयन नहुने जस्ता प्रीतक्रिया दिए पनि पार्टी विधान अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिको पछिल्लो बैठकले गरेको निर्णय स्वतः कार्यान्वयन हुने देखिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर