पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद चैट ! - Purba Pati

पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद चैट !

दमक, १६ वैशाख ।


पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी नेपालका चार जना लुम्बिनी प्रदेशसभाका सांसदको पद चैट भएको छ ।
प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको निर्देशन विरुद्ध मतदान गरेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।
पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् ।
प्रदेशसभा सचिवालयले निकालेको सूचनामा जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको व्यहोरा उल्लेख छ ।
गत ६ वैशाख गते नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । तर प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरु चारै जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।
जसपा पार्टी स्रोतले पार्टीको नीति र संसदीय दलको निर्देशन विपरित कार्य गरेकाले चारै जना सांसदलाई पद र पार्टीबाट समेत निष्कासन गरिसकिएको जानकारी दिएको छ ।

One thought on “पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद चैट !

  1. जनता समाजबादी पार्टीको कार्यकारिणी समितिलाई सहि निर्णय गरेकाेमा हार्दिक आभार ब्यक्त गर्दछु ।
    जनता समाजबादी पार्टी समर्थक दिपेन्द्र कुमार सदेम्बा हाल साउदि अरब

प्रतिक्रिया:

सम्बन्धित खवर