ओलीले झूटा मुद्दा फिर्ता लिएका हुन् : जसपा अध्यक्ष यादव - Purba Pati

ओलीले झूटा मुद्दा फिर्ता लिएका हुन् : जसपा अध्यक्ष यादव

दमक, १६ वैशाख ।


झूटा मुद्दा लगाएर फसाउने षड्यन्त्र असफल भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसका आन्दोलनकारीहरुको मुद्दा फिर्ता लिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले टिप्पणी गरेका छन् ।
जसपा अध्यक्ष यादवले बुधबार ओली सरकारले गरेको निर्णय मधेसको माग सम्बोधन नभई आन्दोलनका क्रममा लगाइएका भूटा मुद्दा फिर्ता लिएर आफ्नो गल्ती स्वीकार गर्ने कार्य मात्रै भएको प्रतिक्रिया दिएका हुन् ।
मधेसका माग पूरा नभएसम्म मधेसको अधिकार स्थापित नहुने भन्दै यादवले भने –‘मधेसको पहिचान, राज्यको पुनः संरचना, समानुपातिक समावेशी, नागरिकताको विषय, संविधान संशोधन लगायतका माग नै मधेसको मुख्य माग हुन् ।’
ओली सरकारले पहिला फसाउने, मुद्दा लगाउने अनि त्यहि मुद्दामा बार्गेनिङ गर्दै वार्ता गरेर आन्दोलन समाप्त गर्ने षड्यन्त्र जारी रहेको आरोप लगाउँदै उनले भने –‘ढाँटेर, छलेर अब काम चल्दैन ।’
मुद्दा फिर्ता लिने ओलीको निर्णय केवल मधेस र मधेसी जनतामाथिको खेल मात्रै भएको भन्दै यादवले थप भने –‘अहिले जति पनि मुद्दा फिर्ता गरिएको छ, त्यो प्रशासनिक कार्य हो, गलत मुद्दा लगाइएका कारण ती फिर्ता हुनैपर्ने थियो, तर त्यसलाई मधेसको माग भन्दै प्रधानमन्त्रीले मधेसी जनतालाई भ्रममा पार्ने काम भइरहेको छ ।’ ओली मधेसको वास्तविक मुख्य मुद्दामा प्रवेश नै गर्न नचाहने यादवको आरोप छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर