चन्द्रमा पुग्ने टोलीका सदस्य माइकल कोलिन्स रहेनन् - Purba Pati

चन्द्रमा पुग्ने टोलीका सदस्य माइकल कोलिन्स रहेनन्

दमक, १६ वैशाख (एजेन्सीको सहयोगमा)

पहिलो पटक मानवसहित चन्द्रमामा अवतरण गरेको अन्तरीक्ष यानमा यात्रा गरेका अन्तरीक्ष यात्री माइकल कोलिन्सको २८ अप्रिलमा निधन भएको छ ।
कोलिन्स मानव जातिलाई चन्द्रमामा पु¥याउने अभियान एपोलो–११ का एक सदस्य थिए । उनी एपोलो–११ मिसनको क्रु–मेम्बर थिए ।
पारिवारिक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको हो । उनी लामो समय क्यान्सरबाट पीडित थिए ।
बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए । अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो ।
कोलिन्सको निधनपछि अब एपोलो–११ मिसनको एकमात्र जीवित क्रू सदस्य बज एल्ड्रिन छन् । उनी ९१ वर्षका छन् । एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा लेखेका छन्, ‘प्रिय माइक, तपाईं जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’
एपोलो–११ का कमाण्डर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति उनै आर्मस्ट्रङ्ग थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर