मधेस र थरुहट आन्दोलनको बेला लगाइएका १२० जना विरुद्धको मुद्दा फिर्ता - Purba Pati

मधेस र थरुहट आन्दोलनको बेला लगाइएका १२० जना विरुद्धको मुद्दा फिर्ता

राजनीतिमा नयाँ तरङ्ग

काठमाडौं, १५ वैशाख ।


केपी शर्मा ओली नेतृत्वको सरकारले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा लगाइएका १२० जना विरुद्धको विभिन्न प्रकृतिका १५ वटा मुद्दा फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले मधेस र थरुहट आन्दोलनका क्रममा लगाइएका सरकारीवादी मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले भने –‘नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको छ । यो राजनीतिक निर्णय पनि हो ।’
यसअघि राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीका एक जना अध्यक्ष महन्थ ठाकुरबीच मुद्दा फिर्ताका विषयमा कुराकानी भए अनुसार १२० जना विरुद्धको मुद्दा सरकारले फिर्ता लिएको हो । ठाकुरले भने २२४ जना प्रतिवादी रहेको २६ वटा मुद्दा फिर्ता हुनुपर्ने माग सहित सरकारलाई सूची बुझाएका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा जसपाभित्र अन्तिम निर्णय हुनै लाग्दा ओली सरकारले सत्ता टिकाउने अस्त्रका रूपमा आन्दोलनकारीका मुद्दा फिर्ता लिएको हो ।
यो पछिल्लो सरकारी निर्णयलाई राजनीतिक वृत्तमा निक्कै चासोका साथ हेरिएको छ । यद्यपि सरकारी निर्णयले जसपाभित्र खासै उथलपुथल ल्याउन नसक्ने जसपा स्रोतले जनाएको छ ।
मुद्दा फिर्ताका लागि अत्यधिक पहल गरिएका कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीमाथिको मुद्दा सरकार पक्षले फिर्ता नलिएपछि जसपाभित्र पछिल्लो सरकारी निर्णयको असर नपरेको स्रोतको भनाइ छ ।
जसपाले सरकारले विभिन्न समयमा लगाएका झुटा मुद्दा फिर्ता लिएकोमा धन्यवाद मात्रै दिन सकिने र ओलीको प्रतिगामी सत्ताको साँक्षी हुन नसकिने पुरानै धारणालाई कायम राखेको स्रोत बताउँछ ।
तर जसपाभित्रका पूर्व राजपा नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो निकट नेता कार्यकर्ताहरुले सरकारी कदमलाई समर्थन गर्दै ओली सत्ता टिकाउन सहयोग गर्नुपर्ने धारणा सामाजिक सञ्जालहरुमा राख्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर