जिल्लिए ओली ! समाजवादी-राजपा एकता पक्का - Purba Pati

जिल्लिए ओली ! समाजवादी-राजपा एकता पक्का

काठमाडाै, १० बैशाख । कोरोना विपत सुल्झाउन छाडेर समाजवादी पार्टी फुटाएर पहिचानको आन्दोलन कमजोर पार्ने खेलमा लागेका प्रधानमन्त्री असफल भएका छन् ।

लकडाउनको बेला अध्यादेशमार्फत दल त्याग सम्वन्धी ऐन संशोधन गरेरै समाजवादी पार्टी फुटाउन उद्धत देखिएका प्रम ओली बुधबार राति ११ बजे झस्किए । जतिबेला समाजवादी पार्टी र राजपाबीच पार्टी एकताको आधारपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

दुई पार्टीले प्रधानमन्त्री ओली कोभिड १९ महामारीको समस्या समाधान गर्नतर्फ नभै महासंकटको समयमा पार्टी विभाजनको खेलमा लागेको भन्दै त्यसको कडा प्रतिवादका रूपमा पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिमा पार्टीको नाम जनता समाजवादी पार्टी हुने, झन्डा हाल समाजवादी पार्टीले प्रयोग गरेकै रातो र हरियोका बीचमा सेतो तारा भएको रहने र चुनाव चिन्ह राजपाको छाता रहने भनी उल्लेख छ । अन्य विषय आपसी छलफल र सहमतिबाट टुङ्ग्याउने भनिएको छ ।

सहमतिपत्रमा समाजवादीतर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् भने राजपाबाट महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भन्डारीले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर