राहत वितरणमा अनियमितता भएको काँग्रेसको आरोप - Purba Pati

राहत वितरणमा अनियमितता भएको काँग्रेसको आरोप

पूर्व पाटी व्यूरो, ६ बैशाख ।


लकडाउनको समयमा राहत वितरण कार्यमा अनियमितता भएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगाएको छ ।
स्थानीय तहहरुबाट भएका राहत वितरणमा अनियमितता भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी काँग्रेसले राहत वितरणको अनुगमनका लागि सर्वदलीय संयन्त्र बनाउन माग गरेको हो ।
शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको आरोप लगाए ।
प्रवक्ता शर्माले भने –‘राहत वितरणको कार्यलार्ई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै बैठकले स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको छ ।’ साथै शर्माले बैंकको व्याज मिनाहा र कम गर्न सकिने अवस्था हेरी निर्णय गर्न समेत काँग्रेसले माग गरेको जानकारी दिए ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले अभाव झेलिरहेका मानिसलाई सुरक्षित घरसम्म पुग्ने वातावरण मिलाउन पनि सरकारसँग माग गरेको हो । बीचबाटोमा अभर परेका र भोकै बसेका यात्रुलाई सेवा दिन पनि काँग्रेसले आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।
काँग्रेसले महाकाली पारी रहेका नेपालीलाई स्वदेश प्रवेशमा रोक लगाइएको विषयलाई गम्भीर रूपमा लिएको बताएको छ भने विदेशमा रहेका नेपालीहरुको उचित प्रवन्धका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घुम्ती परीक्षण सुरु गर्नुपर्ने माग गर्दै काँग्रेसले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बीचमा आवश्यक समन्वय गरी कोरोनाबाहेक अन्य रोगका विरामीको अवस्थालाई ध्यान दिनसमेत आग्रह गरेको छ ।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे कारबाही प्रक्रिया अगाडि नबढेको बारे पनि काँग्रेस पदाधिकारी बैठकले सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर